Yearly Banking Horoscope 2080

 Yearly Banking Horoscope 2080


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुने बैंकका कर्मचारीहरु का लागि यो वर्ष मध्यम नै रहनेछ । जागिर परिवर्तनको योग छ । नजिकका साथीहरुको सहयोगले नयाँ काम गर्न खोज्दा विजय प्राप्त हुनेछ । आश्विन महिना झन् बढी सुखमय होला । अपजस पाइने सम्भावना पनि छ । यद्यपी, सातौँ बृहस्पति र राहुको प्रभावले शत्रु बढ्ने योग पनि छ । जग्गा जमिन, वा मालपोतसँग सम्बन्धित काम गर्ने बैंकरहरुका लागि भने विवाद बढ्ने योग छ । असार, असोज, माघ र फागुन महिनामा खुसीको खबर सुन्न सकिएला । बैंकिङ तयारी गरिरहेकाहरुका लागि यो वर्ष नयाँ जागिरका लागि राम्रो समय छ । मेष राशि भएकाहरुका लागि सेतो, खैरो, पर्पल र पहेँलो शुभ रङ्ग हो भने १, ३, ७, र ९ शुभ अङ्क हो । मेष राशि भएका बैंकका कर्मचारीहरु र बैंकिङ तयारी गरिरहेकाहरुले विहिबार ब्रत बस्दा राम्रो हुन्छ । कुनै पनि काम गर्नुअघि वा कुनै पनि खालका परीक्षा दिनुअघि विष्णु भगवानको विशेष सम्झना गर्दा अझ राम्रो हुन्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

वृष राशि भएका बैंकका कर्मचारीहरुका लागि २०८० साल मध्यम छ । चैत्र महिनामा राम्रो हुने संकेत छ ।  आफ्नै हातले नयाँ क्लाइन्टलाई ऋण स्वीकृत गर्दैहुनुहुन्छ भने वृष राशी भएकाहरुले निकै ख्याल गर्नुहोला । साथीभाईबीच सापटी लिनेदिने गर्नुभएको छ भने विशेष ख्याल गर्नुहोला । श्रावण, कार्तिक, पुष र माघ राम्रा महिनाका रुपमा रहनेछन् । अपजसको योग पनि छ । बैंकको काममादबाब र तनाव बढेको महसुस हुनेछ । वृष राशि भएकाहरुका लागि शिक्षामा यो बर्ष त्यति राम्रो समय छैन । पढाईमा ध्यान नै नजाने समस्या हुनसक्छ । भाद्र र पुष महिनामामा दिएको परिक्षामा भने राम्रो नतिजा आउन सक्ने देखिएको छ ।  वृष राशि भएकाहरुका लागि सेतो, गुलाबी, निलो, र पहेँलो शुभ रङ्ग हो   भने २, ४, ६ र ७ शुभ अङ्क हो । वृष राशी भएका बैंकका कर्मचारीहरु र बैंकिङ तयारी गरिरहेकाहरुले प्रत्येक शनिवार दुर्गाजीको पूजा ÷ आराधना गर्दा राम्रो होला ।  दर्शन, पूजा र उपासना गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ ।  बिहीवार पहेँलो कपडा लगाउँदा राम्रो हुन्छ । नियमित ड्रेस भएकाहरुले केहि न केहि पहेँलो लगाउँदा उत्तम हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

मिथुन राशि हुने बैंकका कर्मचारीहरुका लागि यो वर्ष सुखदायी नै रहनेछ । बृहस्पति र राहुको कारणले शुभ फल मिल्नेछ । यो वर्ष बैंकमा काम गरिरहेकाहरुका लागि थोरै मिहेनत गरे बढुवा हुनसक्ने योग छ । यद्यपि नयाँ ऋणीलाई कर्जा प्रवाह गर्ने तयारीमा हुनुहुन्छ भने विशेष ख्याल गर्नुहोला । बैंकमा नयाँ जागिर खानेहरुका लागि पनि यो वर्ष सुखद नै रहनेछ । यद्यपी आम्दानी भन्दा खर्च अलि बढि हुने सम्भावना छ । बैंकमा जागिर खानमा लागि यो वर्ष बैशाख, साउन, मंसिर र चैत्र महिना राम्रो देखिन्छ । मिथुन राशि भएकाहरुका लागि यो वर्षको शुभ रङ्ग हरियो, रातो, गुलाबी र सेतो रहेको छ भने १, ३, ६ र ९ शुभ अंक हो । बैंकमा जागिरको तयारी गर्नेहरुले नवग्रहको शान्ति गर्दा राम्रो हुन्छ । कुनै पनि काम गर्नु, निर्णय लिनु वा कुनै पनि परीक्षा दिनुअघि भगवान शिवजी र भैरवजीको दर्शन तथा ध्यान गर्दा अझ राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

कर्कट राशि हुने बैंकका कर्मचारीहरुका लागि यो वर्ष मध्यम रहनेछ । जागिरमा केही झमेला आउन सक्छ । राहु र शनिको प्रभावले आफ्नै नजिकको साथीबाटै झुठो आरोप लाग्न सक्छ ख्याल गर्नुहोला । अन्य कर्मचारीसँग वादविवाद वा मनमुटाव हुनसक्छ । कर्कट राशि हुनेहरुले कर्जा प्रवाह वा अन्य कुनै पनि काम गर्दा अरुको सल्लाह भन्दा आफ्नै बुद्धिले निर्णय लिँदा फाइदा होला । वैशाख, साउन, असोज र माघ राम्रा महिनामा रुपमा रहनेछन् । बैंकमा नयाँ जागिर खोजिरहेकाहरुका लागि साउन महिनापछिको समय उत्तम रहनेछ । कर्कट राशि हुनेहरुका लागि यो वर्षको शुभ रङ्ग सेतो, रातो, हरियो र पहेँलो रहेको छ भने शुभ अंक २, ३, ६ र ७ हो । बैंकमा जागिर खानेहरुले यो वर्ष बृहस्पति, शनि, राहु र केतुसहित नवग्रह शान्ति र जप गर्दा राम्रो हुन्छ । साथै, बैंकको जागिरको तयारी गर्नेहरुले शनिबार हनुमानजीको दर्शन, पूजा र व्रत बस्दा अझ राम्रो हुन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुने बैंकका कर्मचारीहरुका लागि २०८० साल सुखदायी रहनेछ । बृहस्पति र केतुको बृहस्पतिको प्रभावले सिंह राशि हुनेहरुका लागि यो वर्ष शुभ फल प्राप्त हुनेछ । बैंकमा जागिर खाइरहेकाहरुको यो वर्ष सरुवा र बढुवा हुने यो छ । बैंकमा नयाँ जागिर खान खोज्नेहरुका लागि पनि यो वर्ष उत्तम छ । जेठ, असार, मंसिर र माघ महिना झनै राम्रो रहनेछ । सिंह राशि हुनेहरुका लागि यो वर्षको शुभ रंङ्ग गुलाबी, निलो, रातो, पँहेलो र खैरो रहेको छ । नियमित ड्रेसमा केही न केही रातो लगाउँदा अझै राम्रो हुनेछ । यो वर्षका लागि १, ३, ५ र ९ शुभ अंक हो । प्रत्येक शनिबार हनुमान चालिसाको पाठ गर्दा झनै सफलता मिल्न सक्छ । बैंकमा जागिरको तयारी गर्दै हुनुहुन्छ वा कुनै पनि परीक्षा दिने तयारीमा हुनुहुन्छ भने भैरवजीको दर्शन गर्नाले सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 

कन्या राशि हुने बैंकका कर्मचारीहरुका लागि यो वर्ष राम्रो रहनेछ । मनबाट आँटेर गरेको सबै काममा सफलता मिल्नेछ । शनिको अवस्था राम्रो भएकाले शुभ फल मिल्ने योग छ । बैंकमा काम गरिरहेकाहरुका लागि मंसिर महिना राम्रो रहनेछ । समग्रमा यो वर्ष असार, भदौ, मंसिर र फागुन महिना शुभ रहनेछ । कन्या राशी हुनेहरुका लागि यस वर्ष शिक्षामा सामान्य रहेको छ । साथै बैंकको जागिरका लागि तयारी गर्नेहरुलाई यो वर्ष मध्यम छ । मिहेनत अनुसारको नतिजा नआउँदा मन निराश हुनसक्छ । धैर्य गरेर पुनः प्रयास गर्दा चाहिँ सफलता मिल्न सक्छ । जागिर खाईरहेकाहरुलाई भने सरुवा र बढुवाको योग छ । यो वर्ष कन्या राशि हुनेहरुका लागि निलो, रातो, पहेँलो, खैरो र हरियो रङ्ग शुभ हो भने २, ३, ६, ७ र ९ शुभ अंक हो । कुनै पनि काम गर्नु वा कुनै पनि परीक्षा दिनुअघि मातापिता तथा पितृ देवताको आर्शीवाद लिनाले अधिक सफलता मिल्नेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

तुला राशि हुने बैंकका कर्मचारीहरुका लागि यो वर्ष राम्रो रहनेछ । आँटेको र ताकेको काममा सफलता मिल्नेछ । बैंकको जागिरका लागि तयारी गर्नेहरुका लागि जागिर पाइने योग छ । शनि र केतुको कारणले मनमा डर भइरहने र शत्रु बढ्न सक्छन् । आफ्नै हातले नयाँ क्लाइन्टलाई ऋण दिँदै हुनुहुन्छ भने ख्याल गर्नुहोला । बिग्रिएका काम कात्तिक महिनापछि बिस्तारै बन्दै जानेछन् । यो वर्ष तुला राशि हुनेहरुका लागि वैशाख, साउन, भदौ र चैत्र महिना खास राम्रो रहनेछ । यो वर्ष जागिर खाइरहेकाहरुको बढुवा हुने र बैंकमा जागिर खान खोज्नेले जागिर पाउने योग छ । वर्षौंदेखिको असफलता यस वर्ष सफलतामा परिणत हुनेछन् । यो वर्ष तुला राशि हुनेका लागि सेतो, रातो, निलो, खैरो र गुलाबी रङ्ग शुभ हो भने २, ३, ६ र ७ शुभ अंक हो । शनि र केतु ग्रहको शान्ति र हवन गर्दा थप सफलता मिल्नेछ । परीक्षा दिनु वा कुनै शुभ काम गर्नुअघि विघ्नहर्ता गणेशको ध्यान गर्दा झनै राम्रो हुनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि हुने बैंकका कर्मचारीहरुका लागि २०८० साल मध्यम रहनेछ । केतुको कारणले यश र कृति बढ्दा हाल पाइरहेको सेवा तथा सुविधामा बढोत्तरी हुनसक्छ । यो वर्ष जेठ, भदौ, असोज र माघ महिनामा शुभ समाचार मिल्न सक्छ । कुनै पनि परीक्षाको तयारी गरिरहेकाहरुले मिहेनतअनुसारको फल पाउनेछन् । जागिरको शिलशिलामा घरपरिवारबाट टाढिनुपर्ने बाध्यता आउन सक्छ । बैंकको जागिरका लागि धेरै नै मिहेनत गर्नुपर्नेछ । आफ्नै लापरबाहीका कारण ठूलो क्षति हुनसक्छ । निर्णय लिँदा र आफैँ सहभागी भएर कुनै काम गर्दा विशेष ख्याल गर्नुहोला । वृश्चिक राशि हुनेहरुका लागि यो वर्ष सेतो, रातो, खैरो र घ्यू रङ्ग शुभ हो भने शुभ अंक १, ४, ६ र ७ हो । मंगलबार गणेशजीको दर्शन गर्दा सोचेको भन्दा चाँडै सफलता मिल्न सक्छ । कुनै पनि परीक्षा दिनुअघि गणेश भगवानको स्मरण गरे सफलता मिल्नेछ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

धनु राशि हुने बैंकरका लागि यो वर्ष सुखदायी रहनेछ । काम गर्ने क्रममा मानप्रतिष्ठा बढ्नेछ । क्लाइन्टसँगको नयाँ कारोबार गर्दै हुनुहुन्छ भने धनु राशि हुनेहरुले यो वर्ष खास ध्यान दिनुहोला । जागिर खाइरहेकाहरुका लागि यो वर्ष सरुवा तथा बढुवाको योग छ । बैंकमा जागिर खान खोज्ने तथा तयारी गरिरहेकाहरुका लागि यो वर्ष मध्यम रहनेछ । मिहेनत अनुसारको सफलता नमिल्दा मन खिन्न हुनसक्छ । धनु राशि हुनेहरुका लागि यो वर्ष जेठ, असोज र कात्तिक महिना राम्रो रहनेछ । नयाँ काम गर्दा असार र माघ महिना खासै राम्रो नहुन सक्छ । यो वर्षको शुभ रङ्ग आकाशे, गुलाबी, पहेँलो र निलो हो भने शुभ अंक २, ४, ७ र ९ हो । सोमबार शिवजीको दर्शन तथा पूजा गर्दा अड्किएका काम पूरा हुनेछन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

मकर राशि हुने बैंकका कर्मचारीका लागि यो वर्ष मध्यम रहनेछ । नयाँ ठाउँबाट जागिरको लागि अवसर आउनेछन् । असार, असोज र मंसिर महिनामा सुखद् खबर मिल्नेछ । जागिर गरिरहेकाहरुका लागि बढुवा र सरुवाको योग छ । नजिकको साथी र आफन्तको साथ लिँदा काममा अझै सफलता मिल्नेछ । बैंकको जागिरका लागि तयारी गरिरहेकाहरुका लागि भने यो वर्षमा सामान्य सफलता मिल्नेछ । यो वर्ष मकर राशि हुनेहरुका लागि निलो, सेतो, खरानी र हरियो शुभ रङ्ग हो भने १, २, ६ र ८ शुभ अंक हो । नियमित पोशाकमा केही न केही हरियो लगाउनुभयो भने राम्रो हुनेछ । बृहस्पति र शनिको नकारात्मक प्रभाव पर्ने हुँदा हरेक शनिबार पिपलको बोटमा जल चढाउँदा राम्रो हुनेछ । नयाँ काम गर्दा वा कुनै पनि परीक्षा दिँदा गुरु तथा माता पिताको आशीर्वाद लिएर दुर्गाजीलाई स्मरण गरे अझै सफलता मिल्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

कुम्भ राशि हुने बैंकका कर्मचारीहरुका लागि २०८० साल खासै राम्रो नरहला । काममा ढिलासुस्ती र अल्छी गर्दा आर्थिक नोक्सानी हुनसक्छ । कुनै क्लाइन्टलाई कर्जा दिँदै हुनुहुन्छ भने थप चनाखो रहनुहोला । वैशाख, साउन, पुस र फागुन महिना राम्रो रहनेछ भने जेठ र कात्तिकमा आर्थिक नोक्सानी हुनेछ, चनाखो रहे आर्थिक नोक्सानी कम गर्न सकिनेछ । कामको प्रेसरले मानसिक तनाव बढाउन सक्छ । धैर्य गरे रोकिएका काम बन्नेछन् । बैंकको जागिर खान तयारी गर्नेहरुले अधिक मिहेनत गर्नुपर्नेछ । नयाँ ठाउँमा शत्रुबाधा हुने हुनाले थप सतर्क रहनुहोला । कुम्भ राशि हुनेहरुका लागि यो वर्षको शुभ रङ्ग सुन्तला, रातो, खैरो र पर्पल हो । यो वर्षको शुभ अंक भने १, २, ३, ७ र ८ हो । नयाँ काम गर्नुअघि पितृको आशीर्वाद लिए अझै राम्रो हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मीन राशि हुने बैंकका कर्मचारीहरुका लागि यो वर्ष मध्यम रहनेछ । वर्षको पूवार्धमा आर्थिक नोक्सानी हुनसक्छ । रोकिएका काम बन्नेछन् भने उठ्न नसकेका ऋणहरु उठ्नेछन् । जेठ, भदौ र पुस महिना खास राम्रो रहनेछन् । मीन राशि हुनेहरुका लागि यो वर्ष पढाईमा राम्रो रहनेछ । बैंकको जागिर खाने तयारी गर्नेहरुलाई पनि सजिलो छैन, थप मिहेनत गर्नुपर्ने देखिन्छ । जागिर खाइरहेकाहरुलाई भने सरुवा र बढुवाको योग छ । यो वर्षका लागि शुभ रङ्ग घ्यू रङ्ग, सुन्तला, सेतो र रातो हो भने शुभ अंक १, २, ५, ६ र ९ हो । नियमित लगाउने ड्रेसमा केही न केही रातो लगाउँदा राम्रो हुनेछ । नयाँ काम गर्दा तथा कुनै पनि परीक्षा दिनुअघि महालक्ष्मीको दर्शन गरे अझै सफलता मिल्नेछ ।

(1) Discussion on Yearly Banking Horoscope 2080

Log in to comment!

तपाईंको राशिफल कस्तो रहेछ त ?